एसीसी प्रिमियर कप फाइनलमा यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

एसीसी प्रिमियर कप फाइनलमा यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कप २०२६ को फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध पहिले ब्याटिङ गर्दैछ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।

दुवै टोली दोस्रोपटक एसीसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यमा छन्। नेपालले सन् २०२३ को पहिलो संस्करणमा यूएईलाई सात विकेटले पराजित गर्दै उपाधि जितेको थियो। यूएईले भने सन् २०२४ मा आयोजक ओमानलाई हराउँदै उपाधि हात पारेको थियो।

यसपटक प्रतियोगिताको विजेताले मात्र एसिया कपमा स्थान बनाउने भएकाले फाइनल दुवै टोलीका लागि महत्वपूर्ण छ। नेपाल समूह चरण र सेमिफाइनल गरी पाँच खेलमा चार जित र एक हारको नतिजासहित फाइनलमा पुगेको हो भने यूएई अपराजित रहँदै उपाधि भिडन्तमा आइपुगेको छ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र यूएईबीच हालसम्म १९ खेल भएका छन्। नेपालले ११ तथा यूएईले आठ खेल जितेका छन्। पछिल्ला पाँच खेलमा नेपालले तीन खेलमा जित हात पारेको छ।

नेपालले यूएईसँग पछिल्लोपटक गत मेमा आईसीसी विश्वकप लिग-२ अन्तर्गत खेलेको थियो। उक्त प्रतियोगिताका दुवै खेलमा नेपाल विजयी भएको थियो। फाइनलका लागि नेपालले टोलीमा दुई परिवर्तन गरेको छ। देव खनाल र शेर मल्लको स्थानमा अर्जुन कुमाल र सन्दीप जोरालाई प्लेइङ–११ मा समावेश गरिएको छ।