

काठमाडौं । आसिफ शेखको शतक र गुल्सनकुमार झाको अर्धशतकको मद्दतमा नेपालले एसीसी प्रिमियर कपको फाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ३१४ रनको लक्ष्य दिएको छ।
मलेसियाको बायुमास ओभलमा शनिबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रन बनाएको हो।
नेपालका लागि आसिफ शेखले सर्वाधिक १०२ रन बनाए। उनले १०६ बलमा ८ चौका र ४ छक्का प्रहार गरे। गुल्सनकुमार झाले ३८ बलमा ४ छक्का र ३ चौकासहित ५२ रनको आक्रामक पारी खेले।
त्यस्तै, अर्जुन कुमालले ४३, कप्तान रोहितकुमार पौडेलले ४०, दीपेन्द्रसिंह ऐरीले १८, इशान पाण्डेले १३ तथा बसिर अहमदले अविजित १५ रन बनाए।
पहिलो विकेटका लागि आसिफ र अर्जुनले ९७ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए।
यूएईका इब्रार अहमदले ४ विकेट लिए। खुजैमा तनवीरले २ तथा हैदर अली र आदिब उस्मानीले समान १ विकेट लिए।