जोहेइरी मोलालाई मिस वर्ल्ड २०२६ को ताज

जोहेइरी मोलालाई मिस वर्ल्ड २०२६ को ताज

काठमाडौं । डोमिनिकन रिपब्लिककी २४ वर्षीया जोहेइरी मोलाले ‘मिस वर्ल्ड २०२६’को उपाधि जितेकी छन्। भियतनामको न्हा ट्राङमा शनिबार सम्पन्न प्रतियोगितामा १११ प्रतिस्पर्धीलाई पछि पार्दै मोला विश्व सुन्दरी बनेकी हुन्। यो डोमिनिकन रिपब्लिकको दोस्रो मिस वर्ल्ड उपाधि हो। यसअघि सन् १९८२ मा मारियासेला अल्भारेजले देशका लागि पहिलो उपाधि जितेकी थिइन्।

स्पेनकी एलिजाबेथ रेयनेस अलाबर्न पहिलो रनरअप तथा मलेसियाकी तानुसिया चेट्टी दोस्रो रनरअप बनिन्। चेट्टीले ‘ब्युटी विथ अ पर्पस’ उपाधिसमेत जितिन्।

सान्तो डोमिङ्गोकी मोला शिक्षिका, पत्रकार तथा सामाजिक अभियन्ता हुन्। उनले ‘भ्वाइसेस अफ टुमरो’ नामक पहलमार्फत बालबालिका तथा युवाको अंग्रेजी शिक्षा र अवसर विस्तारमा काम गर्दै आएकी छन्।

सन् २०२५ मा ‘मिस वर्ल्ड डोमिनिकन रिपब्लिक’ बनेकी मोला ‘टप मोडल’ प्रतियोगितामा अमेरिका तथा क्यारेबियन क्षेत्रकी विजेतासमेत बनेकी थिइन्। अन्ततः यही सफलताले उनलाई मिस वर्ल्डको ताजसम्म पुर्‍यायो।