

काठमाडौं । बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव समाधान गर्दै आपूर्ति प्रणाली तत्काल सहज बनाउने नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले दाबी गरेका छन्।मन्त्री साहका अनुसार आगामी २-३ दिनसम्म भारतबाट दैनिक १६० बुलेट ग्यास नेपाल भित्र्याउने तयारी गरिएको छ। ग्यासको आपूर्ति बढाएर बजारमा देखिएको अभाव अन्त्य गर्ने मन्त्रालयको योजना रहेको उनले बताए।
मंगलबार दिउँसो पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री साहले ग्यास डिपोमा रित्तो सिलिन्डर राखेर घण्टौँसम्म पालो पर्खनुपर्ने उपभोक्ताको बाध्यता अब छिट्टै अन्त्य हुने दाबी गरे। ‘आगामी केही दिनसम्म लगातार १६० बुलेटका दरले ग्यास ल्याउने सम्पूर्ण प्रबन्ध मिलाइसकिएको छ,’ मन्त्री साहले भने, ‘यो परिमाणको ग्यास बजारमा पुगेपछि उपभोक्ताको माग सहजै पूरा हुने हाम्रो विश्वास छ।’
यसअघि ग्यासको अभाव समाधान गर्न नसकेको भन्दै निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको आलोचना भएको थियो। यादवको बहिर्गमनपछि मन्त्रालयको जिम्मेवारी सम्हालेका साहले ग्यासको नियमित आपूर्तिलाई आफ्नो प्राथमिकतामा राखेका हुन्।
हाल ग्यास आपूर्तिमा पृथ्वी राजमार्गको कृष्णभीरमा गएको पहिरो मुख्य चुनौती बनेको छ। पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि तराईका रिफिलिङ सेन्टरबाट ट्रकमार्फत सिलिन्डर काठमाडौं ल्याउने गरिएको छ।
तर, ट्रकमार्फत हुने ढुवानीले काठमाडौं उपत्यकाको उच्च माग धान्न नसकेको ग्यास उद्योगीहरूले बताउँदै आएका छन्। मन्त्री साहले ग्याससँगै बजारमा देखिएको चिनीको अभाव र मूल्यवृद्धि नियन्त्रणका लागि पनि मन्त्रालयले आवश्यक पहल गरिरहेको बताए। यी समस्या पनि केही दिनमै समाधान गर्ने उनको दाबी छ।