

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत नागढुङ्गा–मुग्लिन सडकखण्डको कृष्णभीरमा नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएको छ। भदौ २८ गतेदेखि परीक्षणका रूपमा यातायात सञ्चालन भइरहेको उक्त सडकखण्डमा असोज १ गतेदेखि पूर्णरूपमा दुईतर्फी यातायात सञ्चालन गरिने भएको छ।
भदौ १० र १४ गते भोटेकोशी बाढीका कारण कृष्णभीरमा सडकको सुरक्षा पर्खालमा क्षति पुगेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो। त्यसपछि पूर्वाधार विकास मन्त्रालयले प्राविधिक अध्ययन गरी सडक सञ्चालनका लागि नयाँ ट्रयाक निर्माण गर्ने निर्णय गरेको हो।
सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीको सहयोगमा गरिएको प्राविधिक अध्ययनपछि कृष्णभीरको पहाड काटेर नयाँ ट्रयाक निर्माण गर्ने विकल्प अघि सारिएको थियो।
नागढुङ्गा–नौबिसे–मुग्लिन सडक आयोजनाका संयोजक एवं सडक विभागका सिनियर डिभिजनल इन्जिनियर सुरेश पौडेलका अनुसार भदौ १९ गतेदेखि रुख कटान सुरु गरी पहाडको करिब ३५ मिटर उचाइ तथा २० मिटर भित्री भाग काटेर नयाँ ट्रयाक निर्माण गरिएको हो।
निर्माणमा प्राविधिकसहित करिब ५० जना जनशक्ति दैनिक १२ देखि १६ घण्टासम्म खटिएका थिए। काम सुरु भएको १०औँ दिन अर्थात् भदौ २८ गतेदेखि ग्यास बुलेटसहित केही सवारी परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको थियो।
हाल सडकमा ग्राभेल गर्ने, नाली निर्माण तथा संरचना मजबुत बनाउने काम भइरहेको छ। भदौ ३१ गतेसम्म ग्राभेलको काम पूरा गरी असोज १ गते बिहानदेखि दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी गरिएको पौडेलले बताए।
नयाँ ट्रयाकमा माथिबाट पहिरो तथा हिलो–लेदो आएर सडक अवरुद्ध हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक उपकरण तयारी अवस्थामा राखिएको छ। पानीसँगै आउने लेदोले ग्राभेलमा क्षति पुर्याउन सक्ने भएकाले थप ग्राभेलसमेत मौज्दात राखिएको छ।
पहाडभित्रबाट पानी सिपेज भएर सडकमा पस्न नदिन सर्फेस ड्रेनेज निर्माण भइरहेको छ। पहाडमा देखिएका चिराबाट पानी प्रवेश रोक्न चिरा सिल गर्ने र प्लास्टिकले छोप्ने तयारीसमेत गरिएको छ।
दीर्घकालीन वैकल्पिक मार्गका रूपमा बेनीघाटदेखि फिस्लिङसम्मको करिब २० किलोमिटर सडकमा ट्रयाक खोल्ने काम पनि अघि बढाइएको छ। उक्त मार्गलाई आवश्यकता पर्दा वैकल्पिक यातायातका रूपमा प्रयोग गर्न सकिने गरी तयारी भइरहेको छ।
नयाँ ट्रयाकमा रातिको आवतजावत सुरक्षित बनाउन स्थानीय तहसँग समन्वय गरी बत्ती जडान तथा टल्किने स्टिकरलगायत ट्राफिक सुरक्षा सामग्री राख्ने तयारी गरिएको छ।
यसअघि निर्माण कार्य चलिरहेकाले बिहान र बेलुका निश्चित समयमा अत्यावश्यक सवारीलाई आवतजावत गर्न दिइँदै आएको थियो। रातिको समयमा भने सडक बन्द गरिएको थियो।