

पोखरा । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इको रिसोर्ट पुगेका छन्।
सडकमार्ग हुँदै रिसोर्ट पुगेका प्रधानमन्त्री शाहको शुक्रबार राति त्यहीँ बसाइ हुने भएको छ। रिसोर्ट सञ्चालक विश्व अधिकारीका अनुसार प्रधानमन्त्रीका लागि यसअघि नै कोठा बुक गरिएको थियो।
प्रधानमन्त्रीको बसाइ तथा खानपानबारे भने सञ्चालक अधिकारीले थप विवरण दिन अस्वीकार गरेका छन्।
प्रधानमन्त्रीको सुरक्षाका लागि रिसोर्ट परिसरमा नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ। बाहिरी व्यक्तिलाई रिसोर्ट प्रवेशमा रोक लगाइएको छ।
रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री शाहको यो निजी भ्रमण भएकाले विस्तृत विवरण सार्वजनिक गरिएको छैन। उनी सपरिवार पोखरा आएका हुन्।
सुरक्षा स्रोतका अनुसार प्रधानमन्त्री शाह शनिबार मुस्ताङ जाने कार्यक्रम रहेको छ।