

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै पेस गरिएको रिट निवेदन सर्वोच्च अदालतले अध्ययनका लागि राखेको छ।
विशेष महाधिवेशनको आधिकारिकता विवादमा पुनरवलोकनका लागि सर्वोच्च अदालतले अनुमति दिइसकेको अवस्थामा महाधिवेशन प्रक्रिया अघि बढाउन नहुने मागसहित पूर्वसभापति शेरबहादुर देउवाले वारेसमार्फत सर्वोच्च प्रशासनमा रिट पेस गरेका थिए।
सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाका अनुसार शुक्रबार रिट अध्ययनका लागि राखिएको हो। अदालतमा शनिबार र आइतबार बिदा रहेकाले यसको निर्णय सोमबार मात्रै हुने उनले बताए।
‘आजका लागि रिट अध्ययनका लागि राखिएको छ। बीचमा बिदा रहेकाले सोमबार मात्र एउटा निर्णय हुन्छ,’ कोइरालाले भने।
यसैबीच, कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का पनि महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै छुट्टै रिट लिएर सोमबार सर्वोच्च अदालत जाने तयारीमा छन्।