गाँजा खेती व्यवस्थित भए सहजीकरण गर्छौँ : अर्थमन्त्री

गाँजा खेती व्यवस्थित भए सहजीकरण गर्छौँ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कानुन बनाएर गाँजा खेती तथा उत्पादनलाई व्यवस्थित गरिए अर्थ मन्त्रालय सहजीकरण गर्न तयार रहेको बताएका छन्।

शुक्रबार राष्ट्रिय सभाको प्रश्नोत्तर कार्यक्रममा सांसद विष्णुकुमारी सापकोटाले विश्वका विभिन्न मुलुकमा गाँजा खेती वैधानिक हुँदै गएको उल्लेख गर्दै नेपाल सरकारको योजनाबारे प्रश्न गरेकी थिइन्।

जवाफमा अर्थमन्त्री वाग्लेले गाँजा उत्पादन तथा बजारीकरणलाई केवल आय, रोजगारी र राजस्वको विषयका रूपमा मात्र हेर्न नहुने बताए। उनका अनुसार यो औषधिजन्य तथा नियन्त्रित लागुऔषधसँग समेत सम्बन्धित भएकाले विज्ञको अध्ययन र स्पष्ट कानुनी व्यवस्था आवश्यक छ।

उनले भने, ‘सम्बन्धित विज्ञहरूबाट अध्ययन तथा निर्क्योल भई कानुनबमोजिम व्यवस्थित भएमा अर्थ मन्त्रालय सहजीकरणका लागि तत्पर रहनेछ।’

वाग्लेले औषधिजन्य प्रयोजनका लागि गाँजा उत्पादनलाई वैधानिक बनाउने दिशामा विश्वका विकसित मुलुकहरू अघि बढिरहेको पनि बताए। नेपालले समेत यस विषयमा सकारात्मक रूपमा अघि बढ्नुपर्ने उनको धारणा छ।

नेपालमा गाँजा खेती हाल कानुनी रूपमा प्रतिबन्धित छ। तर, औषधिजन्य प्रयोजनका लागि व्यवस्थित रूपमा उत्पादन गर्न सकिने कानुनी व्यवस्था गर्नुपर्ने आवाज पछिल्लो समय बढ्दै गएको छ।

सांसद सापकोटाले गाँजाका विभिन्न भाग औषधि उत्पादनमा प्रयोग हुनुका साथै यसको रेसाबाट कपडा, कागज र डोरी बनाउन सकिने बताइन्। उनले गण्डकी प्रदेशले यससम्बन्धी कानुन बनाइसकेको उल्लेख गर्दै संघीय सरकारले कहिले कानुनी व्यवस्था गर्ने भनेर प्रश्न गरेकी थिइन्।

जवाफमा अर्थमन्त्री वाग्लेले गाँजा खेतीको विषय मुख्यतः गृह मन्त्रालयसँग सम्बन्धित रहेको बताए। यस विषयमा गृह मन्त्रालयसँग छलफल गरी आवश्यक अध्ययन र कानुनी व्यवस्था गर्न सकिए अर्थ मन्त्रालय सकारात्मक रूपमा सहजीकरण गर्न तयार रहेको उनको भनाइ थियो।

उनले चालु आर्थिक वर्षको बजेटमा भने गाँजा खेतीसम्बन्धी विषय समेटिएको छैन।