रास्वपाको केन्द्रीय समिति बैठक सुरु

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ।

वनस्थलीस्थित घण्टीघर केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा पार्टीका दस्तावेज, सांगठनिक व्यवस्थापन, मनोनयन, योजना, कार्यक्रम तथा अभियानलगायत विषयमा छलफल हुँदैछ।

महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा–२०८३ अनुमोदन तथा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माणबारे छलफल हुनेछ।

त्यस्तै, केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य र विभागीय प्रमुखको मनोनयन तथा स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिका सदस्य मनोनयन गर्ने विषय पनि बैठकको कार्यसूचीमा छ।

स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखाबारे केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा अभिमुखीकरण र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि छलफल हुनेछ।

यसैगरी, पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने विषयलाई समेत बैठकले छलफल गर्नेछ।