

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले १५औँ महाधिवेशनका लागि अघि बढाइरहेका अधिवेशन तथा महाधिवेशनका गतिविधिमा सहभागी नहुन नेता–कार्यकर्तालाई अपिल गरेका छन्।
शुक्रबार संस्थापन इतर पक्षका शीर्ष नेताहरूबीच भएको छलफलपछि डा. कोइरालाले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले एकतर्फी रूपमा महाधिवेशन प्रक्रिया अघि बढाउनु उचित नभएको बताएका हुन्।
सर्वोच्च अदालतले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दामा पुनरावलोकनका लागि अनुमति दिइसकेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिनु गम्भीर विषय भएको बताएका छन्।
‘यो अवस्थामा कथित विशेष महाधिवेशनबाट गठित पक्षले १५औँ महाधिवेशन गर्ने निर्णय गरी कार्यतालिका सार्वजनिक गरेको सन्दर्भमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
विशेष महाधिवेशनपछि पार्टीको केन्द्रीय कार्यसमिति समानान्तर रूपमा विभाजित रहेको उल्लेख गर्दै डा. कोइरालाले विवाद समाधान नगरी एकतर्फी रूपमा अधिवेशनमा जाँदा पार्टीका सबै तहमा विभाजन बढ्ने र आगामी निर्वाचनमा समेत नकारात्मक असर पर्ने बताएका छन्। त्यसैले उनले पार्टीका सबै तहका समिति, पदाधिकारी, सदस्य तथा क्रियाशील सदस्यलाई आफूले ‘अवैधानिक र विभाजनकारी’ भनेका अधिवेशन तथा महाधिवेशनका गतिविधिमा सहभागी नहुन आग्रह गरेका छन्।