

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्रको असहमतिलाई सडक वा अदालतमा लैजान नहुने बताएका छन्।
पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५औँ महाधिवेशनसम्बन्धी गतिविधि रोक्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिने तयारी गरिरहेका बेला महामन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्।
शुक्रबार फेसबुकमार्फत पौडेलले कांग्रेसको आन्तरिक विवाद राजनीतिक संवादबाटै समाधान गर्नुपर्ने बताए।
उनले लेखेका छन्, ‘हाम्रो घरभित्रका विमतिहरूलाई सडकमा लैजाने वा अदालतको ढोका कुरेर बस्ने समय यो होइन। मलाई लाग्छ, नेपाली कांग्रेसको विवाद अदालतले निरूपण गर्ने विषय होइन र हुनुहुँदैन। राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ।’
पार्टीभित्र असन्तुष्ट रहेका नेता तथा कार्यकर्तालाई संवादका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा आउन आग्रह गर्दै उनले फरक विचारलाई पार्टीभित्रै छलफल गर्नुपर्ने बताए।
‘सानेपामा बसेर मनैदेखि संवाद गरौँ। विगतका कमजोरीहरूमा हामी सबैको सामूहिक जिम्मेवारी छ, त्यसलाई पनि आत्मसात् गर्दै अघि बढौँ,’ पौडेलले भनेका छन्।
उनले १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्दै कार्यकर्ताले चयन गरेको नेतृत्वलाई स्वीकार गरेर पार्टीलाई थप एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन्।
महामन्त्री पौडेलले कांग्रेसले आन्तरिक मतभेदलाई संवाद र सहमतिबाट समाधान गर्दै लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउनुपर्ने बताएका छन्।