

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आगामी आइतबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।
प्रदेशसभा सचिव रामकुमार पौडेलले सूचना जारी गर्दै प्रदेशसभाको आठौँ अधिवेशनको १८औँ बैठक भदौ ७ गते आइतबार दिउँसो १ बजे बस्ने जानकारी दिएका छन्।
उक्त बैठकमा मुख्यमन्त्री थापामगरले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन्।
प्रदेशसभाको सभामुखले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम बैठकको मिति र समय निर्धारण गरेका हुन्।
मुख्यमन्त्रीमा नियुक्त भएपछि संवैधानिक व्यवस्थाअनुसार थापामगरले विश्वासको मत लिन लागेका हुन्। नयाँ सत्ता समीकरणअनुसार नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा उनी भदौ ४ गते बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए।