

नेपालगञ्ज । लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही भदौ ३१ गतेदेखि पुनः सञ्चालन हुने भएको छ। बुद्ध एयरले यात्रुको माग बढेसँगै नेपालगञ्ज–पोखरा उडान पुनः सुरु गर्न लागेको जनाएको छ। बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहका अनुसार भारतको उत्तर प्रदेशलाई पोखरासँग सिधा जोड्ने भएकाले यो उडानको माग पछिल्लो समय बढेको हो।
गत जेठ ५ गतेदेखि उडान स्थगित गरिएको थियो। भारतबाट आउने धार्मिक पर्यटकको संख्या घट्नु र सञ्चालन खर्च बढ्नुका कारण सेवा रोकिएको शाहले बताए। पछिल्लो समय धार्मिक पर्यटकको आवागमन र उडानको माग बढेपछि पुनः सेवा सुरु गर्न लागिएको हो।
बुद्ध एयरका अनुसार नेपालगञ्ज-पोखरा उडान आइतबार, बुधबार र शुक्रबार सञ्चालन हुनेछ। उडानका लागि बुकिङसमेत खुला गरिएको छ।
उडान पुनः सञ्चालन हुने भएपछि बाँकेका पर्यटन व्यवसायी उत्साहित भएका छन्। पर्यटन प्रवर्द्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले पश्चिम नेपाल तथा भारतका नागरिकलाई पोखरासँग सिधा जोड्ने भएकाले उडान पर्यटनका लागि महत्वपूर्ण रहेको बताए।
उनका अनुसार हवाई सेवा सञ्चालन भएपछि पोखरा हुँदै मुस्ताङ जान तथा पश्चिम नेपालबाट बागेश्वरी मन्दिर र भारतको अयोध्यालगायत धार्मिक गन्तव्यमा पुग्न समेत सहज हुनेछ।स्थानीय पर्यटन व्यवसायीको लामो पहलपछि नेपालगञ्ज-पोखरा उडान पहिलोपटक २०७८ साउन १७ गतेदेखि सातामा तीन दिन सञ्चालनमा आएको थियो।