

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले नेपालमा वर्षाको सम्भावना बढेको छ।
मौसमविद् डेभिड ढकालका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ हुनु भनेको रेखा केही नेपालतर्फ नजिकिएको हो। उनका अनुसार रेखा जति नजिक हुन्छ, सामान्यतया वर्षाको सम्भावना त्यति नै बढ्छ। यद्यपि वर्षाको मात्रा जलवाष्पयुक्त हावाको प्रवाहमा समेत निर्भर रहने उनले बताए।
उनका अनुसार आजदेखि आगामी तीन दिनसम्म वर्षाका गतिविधि जारी रहने सम्भावना छ। ठूलो र निरन्तर वर्षाको सम्भावना नरहे पनि विभिन्न स्थानमा वर्षा भइरहने उनले बताए।
महाशाखाले शनिबार बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै तथा मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभाग, कर्णालीको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थान र तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमतीका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने जनाइएको छ।
मौसमविद् ढकालका अनुसार आज काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना छ। दिउँसो २–३ बजेपछि बादल बढ्दै जाने र वर्षा हुने सम्भावना रहेको उनले बताए। काठमाडौं उपत्यकामा आज मध्यमसम्म वर्षा हुनसक्ने मौसम महाशाखाको आकलन छ।