

रसुवा । रसुवाको उत्तरी क्षेत्रमा चीनतर्फ बनेको ठूलो ताल फुटेको जानकारी प्राप्त भएको छ। चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक बनेको ताल फुटेको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले जानकारी दिएका छन्।
उनका अनुसार चिनियाँ पक्षबाट केही समयअघि मात्रै ताल फुटेको सूचना प्राप्त भएको हो। उक्त नयाँ ताल बनेको क्षेत्र रसुवागढीबाट करिब १८ किलोमिटर माथि पर्छ। जिल्ला प्रशासन कार्यालय रसुवाले पनि चीनतर्फ ताल फुटेको जानकारी आएको पुष्टि गरेको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले चिनियाँ पक्षबाट यसबारे सूचना प्राप्त भएको बताएका छन्।
यसअघि भदौ १० गते तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवासहित विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको थियो। त्यसको असर कायमै रहेका बेला पुनः ताल फुटेको सूचना आएपछि जोखिम थप बढेको हो।
नेपाल प्रहरीले पनि तिब्बततर्फ पुनः पानीको ड्याम फुटेको जानकारी प्राप्त भएको जनाएको छ। प्रहरीले उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधारणलाई तत्काल उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ।
‘तिब्बततर्फबाट पानीको ड्याम पुनः फुटेको जानकारी प्राप्त भएको हुँदा उद्धार तथा राहत कार्यमा खटिनुभएका सम्पूर्ण सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधारणलाई तत्काल सतर्क रहन र सुरक्षित स्थानतर्फ जान अनुरोध छ,’ प्रहरीले जारी गरेको सूचनामा भनिएको छ। ताल फुटेपछि भोटेकोशी तथा आसपासका नदीको बहाव थप बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा जोखिम बढेको छ।