

काठमाडौं । आज देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्छ।
देशका हिमाली भूभागका केही तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका धेरै, बागमती र गण्डकीका तराई भूभागका केही तथा मधेस र कोशीका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। त्यस्तै, तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा कोशी, बागमती र गण्डकीका हिमाली भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
मौसम विज्ञानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरसम्मलाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढीलाई अति भारी वर्षा मानिन्छ। वर्षाका कारण नदी, खोलानाला तथा पहाडी क्षेत्रमा भू–क्षय र पहिरोको जोखिम बढ्न सक्ने भएकाले प्रभावित तथा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।