

काठमाडौं । मुलुककै ठूलो चेन स्टोरका रूपमा रहेको भाटभटेनीले आफ्ना स्टोरलाई चौबीसै घण्टा सञ्चालन गर्ने योजना अघि बढाएको छ। यसको सुरुवात पाइलट प्रोजेक्टका रूपमा भक्तपुर स्टोरबाट गरिने भएको छ।
भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङका अनुसार भक्तपुर स्टोर भदौ १ गतेदेखि औपचारिक रूपमा २४ घण्टा सञ्चालनमा आउनेछ। बुधबार रातिदेखि गरिएको परीक्षण सफल भएपछि नियमित रूपमा २४ घण्टा खोल्ने निर्णय गरिएको उनले बताए।
हाल भक्तपुर स्टोर बिहान साढे ७ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुँदै आएको थियो। रातको समयमा स्टोरका व्यवस्थापकीय काम सकेर ग्राहकलाई सहज वातावरण उपलब्ध गराउने उद्देश्यले २४ घण्टा सञ्चालन गर्न लागिएको गुरुङले बताए।
उनका अनुसार राति काम गर्ने कर्मचारीलाई नियमित तलबभन्दा २५ प्रतिशत बढी पारिश्रमिक दिइनेछ भने चिया–खाजाको समेत व्यवस्था गरिनेछ। गुरुङले भक्तपुरमा सफल भए अन्य स्टोरमा समेत क्रमशः २४ घण्टा सेवा विस्तार गर्ने योजना रहेको बताए।
भाटभटेनीले बिहान स्टोर खोल्नुअघि सामान मिलाउने, स्टक व्यवस्थापन गर्ने तथा अभाव भएका सामान थप्ने काम गर्दा ग्राहकलाई असहज हुने गरेको भन्दै ती काम राति नै सम्पन्न गर्ने योजना बनाएको जनाएको छ।
यसअघि भाटभटेनीका २८ भन्दा बढी स्टोर सञ्चालनमा थिए। जेनजी आन्दोलनका क्रममा १२ भन्दा बढी स्टोरमा आगजनी भएको थियो। तीमध्ये अधिकांश स्टोर पुनः सञ्चालनमा आइसकेका छन्। हाल दिनको समयमा मात्रै स्टोर सञ्चालन हुँदा ट्राफिक व्यवस्थापनमा समेत समस्या हुने गरेको भन्दै २४ घण्टा सेवा सञ्चालनले ग्राहक तथा व्यवस्थापन दुवैलाई सहज हुने भाटभटेनीको अपेक्षा छ।