यस्ताे छ वाणिज्य बैंकहरूको वित्तीय विश्लेषण

यस्ताे छ वाणिज्य बैंकहरूको वित्तीय विश्लेषण

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। विवरणले बैंकहरूको नाफा, लाभांश क्षमता, निक्षेप, कर्जा तथा खराब कर्जामा ठूलो अन्तर देखाएको छ।

नाफामा नबिल शीर्ष स्थानमा

खुद नाफाका आधारमा नबिल बैंक ७ अर्ब ९० करोड रुपैयाँ नाफासहित पहिलो स्थानमा छ। कुमारी बैंक ७ अर्ब ३८ करोडसहित दोस्रो, ग्लोबल आईएमई बैंक ६ अर्ब २२ करोडसहित तेस्रो स्थानमा छन्।

त्यस्तै, एभरेस्ट बैंकले ५ अर्ब ६ करोड र राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। अर्कोतर्फ खराब कर्जा व्यवस्थापन तथा इम्पेयरमेन्ट चार्जको दबाबका कारण प्रभु बैंक २४ करोड १२ लाख रुपैयाँ खुद नोक्सानीमा पुगेको छ।

लाभांश क्षमतामा एभरेस्ट अगाडि

शेयरधनीलाई लाभांश वितरण गर्ने क्षमताका आधारमा एभरेस्ट बैंक सबैभन्दा अगाडि देखिएको छ। बैंकको प्रति शेयर लाभांश क्षमता ३८.३२ प्रतिशत रहेको छ। नबिल बैंकको १९.१० प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकको १९.०४ प्रतिशत लाभांश क्षमता रहेको छ।

तर एनआईसी एशिया, हिमालयन, प्रभु र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेकाले यी बैंकले तत्काल लाभांश वितरण गर्न नसक्ने अवस्था देखिएको छ।

पूँजीमा ग्लोबल आईएमई, जगेडामा राष्ट्रिय वाणिज्य

चुक्ता पूँजीका आधारमा ग्लोबल आईएमई बैंक ३८ अर्ब ११ करोड रुपैयाँसहित पहिलो स्थानमा छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चुक्ता पूँजी ३४ अर्ब १२ करोड रुपैयाँ रहेको छ। जगेडा कोष तथा सञ्चित नाफामा राष्ट्रिय वाणिज्य बैंक ४० अर्ब ४५ करोड रुपैयाँसहित अगाडि छ भने नबिल बैंकको जगेडा कोष ३९ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ।

निक्षेप संकलनमा राष्ट्रिय वाणिज्य बैंक ६८६ अर्ब १३ करोड र ग्लोबल आईएमई बैंक ६६९ अर्ब १७ करोड रुपैयाँसहित अगाडि छन्। कर्जा प्रवाहमा भने नबिल बैंक ४६० अर्ब ३१ करोड र ग्लोबल आईएमई बैंक ४३९ अर्ब ३४ करोड रुपैयाँसहित अग्रस्थानमा छन्।

ईपीएसमा एभरेस्ट, नेटवर्थमा नेपाल बैंक

प्रति शेयर आम्दानी (ईपीएस) मा एभरेस्ट बैंक ३६.९५ रुपैयाँसहित पहिलो स्थानमा छ। नेपाल बैंकको ३०.६३, राष्ट्रिय वाणिज्य बैंकको २९.१४, स्ट्याण्डर्ड चार्टर्ड बैंकको २८.३८, नबिल बैंकको २८.३६ र कुमारी बैंकको २८.१७ रुपैयाँ ईपीएस रहेको छ।

प्रभु बैंकको ईपीएस १.०२ रुपैयाँ ऋणात्मक रहेको छ भने एनआईसी एशिया बैंकको ईपीएस १.२२ रुपैयाँमा सीमित छ। किताबी मूल्यतर्फ नेपाल बैंक २८७.७० रुपैयाँ प्रतिशेयर नेटवर्थसहित अगाडि छ। एभरेस्ट र नबिल बैंक क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। मूल्य आम्दानी अनुपातका आधारमा कुमारी बैंक र नेपाल बैंक तुलनात्मक रूपमा सस्तो देखिएका छन् भने एनआईसी एशिया बैंकको पीई रेसियो २६६.९० गुणा पुगेको छ।

खराब कर्जामा एभरेस्ट उत्कृष्ट, प्रभुमा ठूलो जोखिम

सम्पत्तिको गुणस्तर र खराब कर्जामा पनि बैंकहरूबीच ठूलो अन्तर देखिएको छ। एभरेस्ट बैंकको खराब कर्जा ०.४९ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकको २.०३ प्रतिशतमा सीमित छ। यसको विपरीत प्रभु बैंकको निष्क्रिय कर्जा १५.५५ प्रतिशत पुगेको छ। एनआईसी एशिया, नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन र कुमारी बैंकको खराब कर्जा पनि ७ देखि ९ प्रतिशतभन्दा माथि पुगेको छ।

समग्रमा, न्यून खराब कर्जा, बलियो वित्तीय अनुशासन र उच्च लाभांश क्षमता भएका बैंकहरू तुलनात्मक रूपमा आकर्षक देखिएका छन्। उच्च खराब कर्जा र प्रोभिजनिङको दबाबमा रहेका बैंक भने नाफा तथा लाभांश क्षमतामा थप दबाबमा परेको वित्तीय विवरणले देखाएको छ।