सरकारसँग सहमति जुटेपछि म्यानपावर व्यवसायीको आन्दोलन फिर्ता

सरकारसँग सहमति जुटेपछि म्यानपावर व्यवसायीको आन्दोलन फिर्ता

काठमाडौं । कार्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका म्यानपावर व्यवसायीले सरकारसँगको वार्ता सकारात्मक भएको भन्दै आन्दोलन फिर्ता लिएका छन्। आन्दोलन फिर्तासँगै व्यवसायीहरू वैदेशिक रोजगारीमा श्रमिक पठाउने काम नियमित गर्न सहमत भएका छन्।

वैदेशिक रोजगार व्यवसायी संघका सल्लाहकार तथा पदाधिकारी र सरकारका तर्फबाट युवा, श्रम तथा रोजगारमन्त्री तथा सचिवबीच सोमबार बिहान भएको वार्तामा व्यवसायीका माग सम्बोधन गर्ने सहमति जुटेको हो।

संघले १५ बुँदे माग राख्दै सोमबारदेखि देशभरका म्यानपावर कार्यालय बन्द गरी श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम रोकेको थियो। वार्ताका क्रममा सरकारले व्यवसायीका माग ३० देखि ४५ दिनभित्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएको व्यवसायीहरूले बताएका छन्।

संघका अध्यक्ष डिकबहादुर खत्रीले सरकारसँगको वार्ता सकारात्मक भएपछि श्रमिक पठाउने कामलाई निरन्तरता दिने सहमति भएको जानकारी दिए। उनले भने, ‘हाम्रा १५ बुँदे माग सरकारले सम्बोधन गर्ने सहमति जनाएको छ। ती माग पूरा गर्न निश्चित प्रक्रिया पूरा गर्नुपर्ने भएकाले केही समय लाग्ने देखिएको छ।’

खत्रीका अनुसार हालै सम्पन्न विभिन्न चरणका छलफलमा सेवा शुल्क व्यवस्थापन, ऐन संशोधनको प्रक्रिया तथा आवश्यकताअनुसार आन्दोलनका स्वरूप परिवर्तन गर्नेलगायत विषयमा समेत विस्तृत छलफल भएको थियो।

यसैबीच, युवा, श्रम तथा रोजगार मन्त्रालयले संघले आह्वान गरेका आन्दोलनका कार्यक्रम फिर्ता भएको विज्ञप्तिमार्फत जनाएको छ। मन्त्रालयले व्यवसायीले अघि सारेका माग सम्बोधन गर्न अधिकतम प्रयास गर्ने प्रतिबद्धतासमेत जनाएको छ। आन्दोलन फिर्तासँगै म्यानपावर व्यवसायीले वैदेशिक रोजगारीका लागि श्रमिक पठाउने प्रक्रिया पुनः नियमित गर्ने भएका छन्।