

काठमाडौं । संघीय संसदका सांसदहरूले अब औपचारिक रूपमा स्वकीय सचिव राख्न पाउने भएका छन्। सरकारको यससम्बन्धी निर्णय नेपाल राजपत्रमा प्रकाशित भएसँगै व्यवस्था कार्यान्वयनमा आएको हो। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार संघीय संसदका सदस्यहरूले राजपत्रांकित तृतीय श्रेणी (रा.प. तृतीय) स्तरका एक जना स्वकीय सचिव नियुक्त गर्न सक्नेछन्।
यस्तै, प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षले राजपत्रांकित प्रथम श्रेणी (रा.प.प्र.) सरहका एक प्रमुख स्वकीय सचिव राख्न पाउने व्यवस्था गरिएको छ। साथै उनीहरूले राजपत्रांकित द्वितीय र तृतीय श्रेणीका थप दुई जना स्वकीय सचिवसमेत नियुक्त गर्न सक्नेछन्।
विपक्षी दलका नेता, उपसभामुख, राष्ट्रियसभा उपाध्यक्ष, प्रमुख सचेतक तथा संसदीय समितिका सभापतिहरूले पनि राजपत्रांकित द्वितीय श्रेणीका स्वकीय सचिव राख्न पाउने व्यवस्था लागू गरिएको छ। राजपत्रअनुसार स्वकीय सचिवहरूले सम्बन्धित पदको सुरु स्केलअनुसारको तलब–भत्ता प्राप्त गर्नेछन्। उनीहरूको पारिश्रमिक ऐनबमोजिम सीधै बैंक खातामार्फत भुक्तानी गरिने व्यवस्था गरिएको छ।