कांग्रेसमा विभाजनको संकेत : देउवा समूहको निष्कर्ष- ‘गगन थापासँग मिल्ने सम्भावना ९९ प्रतिशत छैन’

कांग्रेसमा विभाजनको संकेत : देउवा समूहको निष्कर्ष- ‘गगन थापासँग मिल्ने सम्भावना ९९ प्रतिशत छैन’

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टी सभापति गगन थापासँग सहमति र एकताको सम्भावना लगभग समाप्त भएको निष्कर्ष निकालेको छ।

चुनदेवीस्थित सम्पर्क कार्यालयमा नेता पूर्णबहादुर खड्काको नेतृत्वमा बसेको देउवा समूहका शीर्ष नेताहरूको बैठकले पार्टी एकताको सम्भावना न्यून रहेको ठहर गर्दै राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको हो।

बैठकपछि नेता मीनबहादुर विश्वकर्माले बिपी स्मृति दिवसको तयारी, पार्टी एकताका लागि गठित समिति र संगठन सुदृढीकरणका विषयमा छलफल भएको जानकारी दिए। साथै आगामी राजनीतिक रणनीतिबारे पनि विस्तृत समीक्षा गरिएको उनले बताए।

उनका अनुसार बैठकले साउन २४ देखि २९ गतेभित्र राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ। गगन थापा नेतृत्वसँग सहमतिको सम्भावनाबारे सोधिएको प्रश्नमा विश्वकर्माले भने, ‘मिल्ने लक्षण अब ९९ प्रतिशत देखिँदैन।’

उनले संस्थापन पक्षले वार्ताप्रति गम्भीरता नदेखाएको आरोप पनि लगाए। उनका अनुसार आफूहरूले निरन्तर संवादको प्रयास गरे पनि संस्थापन पक्षबाट प्रतिबद्धता पूरा नभएको गुनासो छ।

‘हामी त बाहिर छौँ, के गर्न सक्छौँ र? हामीले मिलाऔँ भन्ने नै हो। उहाँहरू आउँछु भन्नुहुन्छ, सबै गर्छु भन्नुहुन्छ, तर भोलिपल्ट आउनुहुन्न। महिनौँसम्म कुनै पहल हुँदैन,’ उनले भने।

विश्वकर्माले संस्थापन पक्षलाई पार्टी एकताप्रति रुचि नभएको हुनसक्ने दाबी गर्दै अब नयाँ राजनीतिक विकल्पको तयारी अघि बढ्ने संकेत दिए। उनका अनुसार आगामी दिनमा नेतृत्व, नीति, राजनीतिक सिद्धान्त, संगठनात्मक संरचना, विधान तथा पार्टी सञ्चालन प्रणालीबारे विस्तृत छलफल गरिनेछ।

नयाँ पार्टी गठनको सम्भावनाबारे सोधिएको प्रश्नमा उनले सबै विषय प्याकेजमै तय हुँदै जाने बताए। पार्टीको नाम, चुनाव चिन्हलगायत विषयमा पनि क्रमशः छलफल गरेर निर्णय गरिने उनको भनाइ छ। देउवा समूहको यो निष्कर्षसँगै नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद झन् गहिरिने र नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो बन्ने संकेत देखिएको छ।