५ पुराना ऐन-नियमावली खारेज गर्ने तयारी, राजस्व अनुसन्धानको जिम्मेवारी पुनः बाँडफाँट हुने

५ पुराना ऐन-नियमावली खारेज गर्ने तयारी, राजस्व अनुसन्धानको जिम्मेवारी पुनः बाँडफाँट हुने

काठमाडौं । सरकारले कानुनी संरचनालाई समयानुकूल बनाउने उद्देश्यसहित चारवटा ऐन र एउटा नियमावली खारेज गर्ने तयारी गरेको छ। यसका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा ‘अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’ प्रस्तुत गरेका छन्।

विधेयकको दफा ५ मा खारेजी तथा बचाउसम्बन्धी व्यवस्था गरिएको छ। प्रस्तावअनुसार निम्न कानुनहरू खारेज गरिनेछन्–

  • प्रादेशिक विकास योजनाहरू (कार्यान्वित गर्ने) ऐन, २०१३
  • नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन, २०१४
  • आय टिकट दस्तुर ऐन, २०१९
  • राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२
  • वित्तीय मध्यस्थताको काम गर्ने संस्था सम्बन्धी ऐन, २०५५

यससँगै राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) नियमावली, २०७९ पनि खारेज गर्ने प्रस्ताव विधेयकमा समावेश गरिएको छ।

अनुसन्धानको जिम्मेवारी सम्बन्धित निकायमा हस्तान्तरण

प्रस्तावित कानुनअनुसार विधेयक ऐनका रूपमा लागू भएपछि हाल राजस्व अनुसन्धान विभागमा दर्ता भएका तथा अनुसन्धान भइरहेका, वा अनुसन्धान सम्पन्न भए पनि मुद्दा दायर हुन बाँकी रहेका उजुरी सम्बन्धित निकायमा हस्तान्तरण गरिनेछ।

  • आयकर, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर (भ्याट) तथा गैरकरसँग सम्बन्धित मुद्दा आन्तरिक राजस्व विभागमा पठाइनेछ।
  • चोरी निकासी तथा पैठारी (तस्करी) सम्बन्धी विषय भन्सार विभागले हेर्नेछ।
  • विदेशी विनिमयसम्बन्धी कसुरका अनुसन्धान विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम तोकिएका अनुसन्धान अधिकारीलाई हस्तान्तरण गरिनेछ।

विधेयकमा ऐन लागू हुँदाका बखत राजस्व अनुसन्धान विभागमा रहेका सम्पूर्ण अभिलेख तथा कागजातहरू पनि नेपाल सरकार, अर्थ मन्त्रालयको निर्णयअनुसार सम्बन्धित निकायमा व्यवस्थापन गरी हस्तान्तरण गरिने व्यवस्था प्रस्ताव गरिएको छ। सरकारले यो कदममार्फत राजस्व प्रशासनलाई थप प्रभावकारी, स्पष्ट र जिम्मेवारी केन्द्रित बनाउने लक्ष्य लिएको जनाएको छ।