राष्ट्रिय सभाबाट एकै दिन ६ विधेयक पारित

राष्ट्रिय सभाबाट एकै दिन ६ विधेयक पारित

काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा महत्त्वपूर्ण विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुनेमा चार वटा अध्यादेश प्रतिस्थापन विधेयक र दुई वटा बजेटसँग सम्बन्धित विधेयक रहेका छन्।

राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले संसद्को बैठकमा चार अध्यादेश प्रतिस्थापन विधेयक संसदीय समितिको प्रतिवेदनसहित र दुई बजेट आश्रित विधेयक सभामै छलफल गरेर एकै दिन पारित गरिएको जानकारी दिए।

राष्ट्रिय सभाबाट पारित भएका अध्यादेश प्रतिस्थापन विधेयकहरूमा सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, सहकारी (पहिलो संशोधन) विधेयक तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक रहेका छन्।

यस्तै, आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पनि राष्ट्रिय सभाले बिहीबार नै पारित गरेको छ।

सभाध्यक्ष दाहालले राष्ट्रिय सभाले छोटो समयमै महत्त्वपूर्ण विधेयकहरू पारित गरेर संसदीय प्रक्रियालाई प्रभावकारी रूपमा अघि बढाएको बताएका छन्।