

काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीति प्रति लगानीकर्ताको अपेक्षा पूरा हुन नसक्दा बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बढेको बजार मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट भने दबाबमा परेको हो।
बुधबार नेप्से परिसूचक ३०.०९ अंकले घटेर २६२१.५९ बिन्दुमा झरेको छ। यससँगै सेन्सेटिभ इन्डेक्स ३.९३ अंक, फ्लोट इन्डेक्स २.०६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.४२ अंकले घटेका छन्।
मंगलबार सार्वजनिक मौद्रिक नीतिमा बजारलाई थप चलायमान बनाउने र लगानीमैत्री व्यवस्था आउने अपेक्षा गरिएको थियो। तर लगानीकर्ताले अपेक्षा गरेअनुसारका नीतिगत सुधार नआएपछि बजारमा बिक्रीचाप बढेको विश्लेषण गरिएको छ।
परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ। यस दिन ३६२ वटा कम्पनीका ८४ लाख ६३ हजार कित्ता शेयर ७७ हजार ६२७ पटक किनबेच हुँदा कुल ४ अर्ब ८२ करोड ६० लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिन कारोबार रकम ४ अर्ब ४० करोड रुपैयाँ रहेको थियो।
व्यक्तिगत कम्पनीतर्फ कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य सबैभन्दा धेरै १३.४१ प्रतिशतले घटेको छ। उपकार लघुवित्त वित्तीय संस्थाको शेयर १०.५ प्रतिशतभन्दा बढी र सानिगाड हाइड्रोको शेयर करिब ६.५ प्रतिशतले ओरालो लागेको छ।
कारोबार रकमका आधारमा ११ प्रतिशत केबिएल डिबेञ्चर २०८९ शीर्ष स्थानमा रह्यो। उक्त ऋणपत्रको ६२ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भयो। त्यस्तै ९.५ प्रतिशत एनसीसी डिबेञ्चर २०८६ को ४३ करोड रुपैयाँभन्दा बढी तथा ८.५ प्रतिशत सानिमा डिबेञ्चर २०८७ को करिब २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
क्षेत्रगत रूपमा हेर्दा १३ उपसमूहमध्ये म्युचुअल फण्ड समूह मात्रै हरियो रह्यो भने बाँकी १२ उपसमूह घटेका छन्। जलविद्युत् उपसमूह सबैभन्दा धेरै १.७० प्रतिशतले घटेको छ। बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा तथा अन्य उपसमूहका सूचक पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन्।
मौद्रिक नीतिप्रति बजारको तत्काल प्रतिक्रिया नकारात्मक देखिए पनि आगामी दिनमा नीतिको कार्यान्वयन र समग्र आर्थिक गतिविधिले बजारको दिशा निर्धारण गर्ने विश्लेषकहरूको भनाइ छ।