

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुकुम्वासी समस्याप्रति आफू गम्भीर रहेको बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकपछि संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीले सुकुम्वासीको वर्तमान अवस्थाबारे जिज्ञासा राख्दा लामिछानेले छोटो प्रतिक्रिया दिँदै यस विषयलाई गम्भीरतापूर्वक लिएको बताए।
‘यो विषयमा म एकदमै गम्भीर छु, धेरै नै गम्भीर छु। मैले बुझेको छु,’ उनले भने।
सरकारले काठमाडौंका विभिन्न क्षेत्रबाट हटाइएका सुकुम्वासीलाई अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखेको थियो। तर अहिले त्यहाँबाट समेत हटाउने तयारी भएपछि उनीहरूको बसोबास र जीविकोपार्जन थप संकटमा परेको छ। यही अवस्थाबारे सञ्चारकर्मीले ध्यानाकर्षण गराउँदा सभापति लामिछानेले विस्तृत टिप्पणी नगरी आफू समस्याप्रति गम्भीर रहेको प्रतिक्रिया दिएका हुन्।