दोस्रो दिन पनि घट्यो नेप्से, १९.६७ अंकको गिरावट

दोस्रो दिन पनि घट्यो नेप्से, १९.६७ अंकको गिरावट

काठमाडौं । लगातार दोस्रो कारोबार दिन पनि सेयर बजार ओरालो लागेको छ। बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.६७ अंकले घटेर २,६०१.०९ बिन्दुमा झरेको छ।बजारसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ४ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ४ अर्ब ६१ करोड रुपैयाँमा सीमित भएको छ।

आज दिनभर बजारमा बिक्रीचाप देखियो। ४२ कम्पनीको सेयर मूल्य बढ्दा २२९ कम्पनीको घट्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो। सबै समूहगत सूचक राताम्मे भए। व्यापार समूह सबैभन्दा धेरै २.३६ प्रतिशतले घट्दा उत्पादन तथा प्रशोधन १.१९, विकास बैंक १.११, लगानी ०.९५, होटल तथा पर्यटन ०.७६, जलविद्युत् ०.७०, माइक्रोफाइनान्स ०.६९, निर्जीवन बीमा ०.६६, फाइनान्स ०.६२, जीवन बीमा ०.६१, बैंकिङ ०.५० तथा अन्य समूह ०.१८ प्रतिशतले ओरालो लागे।

कारोबारमा उपकार लघुवित्तको सेयर मूल्य १२.६८ प्रतिशत र स्नो रिभर्सको ११.७६ प्रतिशतले बढ्यो। जनउत्थान लघुवित्त र त्रिशूली जलविद्युत्को सेयर पनि सामान्य वृद्धि भयो। यता सालपा विकास बैंक, थ्रीस्टार हाइड्रोपावर र ओम मेगाश्री फर्मास्युटिकल्सका लगानीकर्ताले सबैभन्दा बढी घाटा बेहोरे।

कारोबार रकमका आधारमा डिबेन्चर अग्रस्थानमा रह्यो। रिलायन्स स्पिनिङ मिल्स, एसियन लाइफ इन्स्योरेन्स (संस्थापक), आँखुखोला जलविद्युत्, सेन्ट्रल फाइनान्स र बेस्ट फाइनान्स सबैभन्दा बढी कारोबार हुने कम्पनीमा परे।

विश्लेषकहरूका अनुसार मौद्रिक नीति सार्वजनिक भएपछि सेयर धितो कर्जा सम्बन्धी नयाँ व्यवस्थाले लगानीकर्तामा केही अन्योल सिर्जना गरेको छ। साथै असार मसान्तअघि बैंकको साँवा–ब्याज तथा किस्ता भुक्तानीका लागि लगानीकर्ताले सेयर बिक्री बढाउँदा पनि बजारमा दबाब परेको देखिएको छ ।