

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले निर्माण क्षेत्रका समस्या समाधान, पूर्वाधार विकास र लगानीमैत्री वातावरण निर्माणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार विस्तारको प्रमुख आधार भएकाले यस क्षेत्रका समस्या समाधानमा सरकार सकारात्मक रहेको स्पष्ट पारे।
उनले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास आयोजना निर्धारित समयमै सम्पन्न गर्न सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए।
छलफलमा महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण थापा तथा पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछानेले निर्माण व्यवसायीले भोगिरहेका भुक्तानी, म्याद थप, ठेक्का व्यवस्थापन, आयोजना कार्यान्वयन, मूल्य समायोजन, बैंकिङ तथा लगानीसम्बन्धी समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
उनीहरूले निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीच समन्वय तथा सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए। छलफलमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र, प्रमुख स्वकीय सचिव सुवास शर्मा लगायतको सहभागिता रहेको थियो।