

काठमाडौं । फिफा विश्वकप २०२६ को क्वाटरफाइनल चरण आजदेखि सुरु हुँदैछ। पहिलो क्वाटरफाइनलमा दुई पटकको विश्वविजेता फ्रान्स र अफ्रिकी च्याम्पियन मोरक्को भिड्दैछन्। खेल नेपाली समयअनुसार शुक्रबार बिहान १ः४५ बजे सुरु हुनेछ।
विश्वकप उपाधिको प्रमुख दाबेदार फ्रान्स र पछिल्ला वर्षहरूमा विश्व फुटबलको नयाँ शक्तिका रूपमा स्थापित मोरक्कोबीचको प्रतिस्पर्धालाई प्रतियोगिताकै सबैभन्दा रोमाञ्चक खेलमध्ये एक मानिएको छ।
फ्रान्स यस विश्वकपमा अपराजित रहँदै क्वाटरफाइनल पुगेको हो। समूह चरणमा नर्वे, सेनेगल र इराकलाई पराजित गरेको फ्रान्सले नकआउट चरणमा स्विडेनलाई ३–० तथा पाराग्वेलाई १–० ले हराउँदै अन्तिम आठमा स्थान बनाएको थियो। पाँच खेलमा १४ गोल गरेको फ्रान्सले दुई गोल मात्रै बेहोरेको छ।
फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पे सात गोलसहित गोल्डेन बुटको दौडमा दोस्रो स्थानमा छन्। उनीसँगै उस्मान डेम्बेले, माइकल ओलिसे र ब्राड्ली बारकोलाले फ्रान्सको आक्रमणलाई थप बलियो बनाएका छन्।
यता मोरक्को पनि प्रभावशाली प्रदर्शन गर्दै क्वाटरफाइनलमा पुगेको हो। समूह चरणमा ब्राजिलसँग बराबरी खेल्दै स्कटल्यान्ड र हाइटीलाई पराजित गरेको मोरक्कोले अन्तिम ३२ मा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा हराएको थियो भने अन्तिम १६ मा क्यानडामाथि ३–० को सहज जित निकालेको थियो।
सन् २०२२ विश्वकपमा पहिलो अफ्रिकी टोलीका रूपमा सेमिफाइनल पुगेको मोरक्को यसपटक पनि अन्तिम चारमा स्थान बनाउने लक्ष्यमा छ। अफ्रिका कप अफ नेसन्स (अफ्कोन) विजेता मोरक्को लगातार ३४ खेल अपराजित रहने आत्मविश्वासका साथ मैदानमा उत्रिनेछ।
यद्यपि मोरक्कोलाई प्रमुख फरवार्ड इस्माइल साइबारीको अनुपस्थितिले ठूलो धक्का लागेको छ। ह्यामस्ट्रिङ चोटका कारण उनी फ्रान्सविरुद्ध खेल्ने छैनन्। उनको स्थानमा सुफियान रहिमीले सुरुआती टोलीमा अवसर पाउने सम्भावना छ।
फ्रान्सका मिडफिल्डर ओरेलिएन चुआमेनीको खेल्ने सम्भावना पनि अनिश्चित छ। साथै माइकल ओलिसे, ब्राड्ली बारकोला र मानु कोनेले पहेंलो कार्ड पाए सम्भावित सेमिफाइनल खेल गुमाउन सक्ने जोखिममा छन्।
इतिहास भने फ्रान्सको पक्षमा देखिन्छ। दुई टोलीबीच हालसम्म भएका ६ भेटमा फ्रान्सले ४ खेल जितेको छ भने २ खेल बराबरीमा सकिएका छन्। मोरक्कोले फ्रान्सविरुद्ध अहिलेसम्म जित निकाल्न सकेको छैन। दुवै टोली पछिल्लोपटक २०२२ विश्वकपको सेमिफाइनलमा भिडेका थिए, जहाँ फ्रान्स २–० ले विजयी भएको थियो।
यस खेलको विजेताले जुलाई १४ मा हुने सेमिफाइनलमा स्पेन र बेल्जियमबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।