

काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक हुने अपेक्षाबीच मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ। लगानीकर्तामा सकारात्मक नीति आउने विश्वास बढेसँगै बजारमा उत्साह देखिएको हो।
साताको दोस्रो कारोबार दिन नेप्से २४.५७ अंकले बढेर २६५१.०१ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन भने बजार २६.२९ अंकले घटेको थियो।
आजको कारोबार अवधिभर नेप्से हरियो संकेतमा रह्यो। बजारसँगै कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ। सोमबार ३ अर्ब ५५ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार यो बढेर ४ अर्ब ४० करोड रुपैयाँ पुगेको छ।
आज २१० कम्पनीको सेयर मूल्य बढ्दा ५७ कम्पनीको मूल्य घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ।
क्षेत्रगत सूचकतर्फ बैंकिङ १.५२ प्रतिशतले अग्रस्थानमा रहँदा विकास बैंक १.१३, व्यापार १.८९, फाइनान्स ०.५७, होटल तथा पर्यटन ०.५४, जलविद्युत् ०.९९, लगानी ०.३८, जीवन बीमा ०.६९, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनान्स ०.२५, निर्जीवन बीमा ०.७२ तथा अन्य समूह ०.७७ प्रतिशतले उकालो लागेका छन्।
व्यक्तिगत कम्पनीतर्फ कालंगा हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ। सानीगढ हाइड्रोपावर १०.५७ प्रतिशत, उपकार लघुवित्त ९.६६ प्रतिशत र मन्दाकिनी हाइड्रोपावर ५.५५ प्रतिशतले उकालो लागेका छन्।
यता आत्मनिर्भर लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै १३.७८ प्रतिशतले घटेको छ। त्यसपछि स्नो रिभर फल्स ५.१३ प्रतिशत, टक्सार पिखुवाखोला हाइड्रोपावर ४.४१ प्रतिशत र झापा इनर्जी ४.०६ प्रतिशतले ओरालो लागेका छन्।
कारोबार रकमका आधारमा ग्लोबल आईएमई बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत् कम्पनी, रिलायन्स स्पिनिङ मिल्स र शिवम् सिमेन्ट सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा परेका छन्।