

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार देश र जनताको हितविपरीत अघि बढिरहेको आरोप लगाउँदै सरकार ‘फाँसीवादी प्रवृत्ति’तर्फ उन्मुख भएको टिप्पणी गरेका छन्।
पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै ओलीले सरकारको १०० दिनको कार्यकालको मूल्यांकन जनताले आफैं गरिरहेको दाबी गरे। सुकुम्वासी बस्तीमा डोजर चलाइएका घटना र प्रभावित बालबालिकाको अवस्थाले सरकारको कार्यशैली उजागर गरेको उनको भनाइ थियो।
‘सरकारको १०० दिन कस्तो रह्यो भन्ने प्रश्नको उत्तर तपाईंहरूले देखिरहनुभएको छ। सुकुम्वासी बस्तीमा डोजर चलेका दृश्य र रोइरहेका बालबालिकाका तस्बिरहरू आफैं बोलिरहेका छन्,’ उनले भने।
ओलीले अहिले देशमा नागरिक खुसी हुने अवस्था नरहेको टिप्पणी गर्दै व्यङ्ग्य गरे, ‘नेपालमा अहिले खुसी हुन अन्तर्राष्ट्रिय फुटबल हेर्नुपर्छ, त्यसबाहेक खुसी हुने ठाउँ देखिँदैन।’
सरकारको वर्तमान अवस्थालाई उनले उम्लिएको दूधसँग तुलना गरे। ‘एक पाथी अट्ने भाँडामा दूध तताउँदा उम्लिएर बाहिर पोखिन सक्छ, तर त्यसले दूध धेरै भएको भन्ने अर्थ हुँदैन। त्यो केवल उम्लिएको अवस्था हो,’ उनले भने।
सरकारको जनआधार कमजोर रहेको दाबी गर्दै ओलीले ‘अहिलेको सरकारका खुट्टा भुइँमै छैनन्, यो केवल उम्लिएको अवस्थाजस्तो हो’ भन्दै आलोचना गरे।