

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा सरकारका तर्फबाट विभिन्न वार्षिक प्रतिवेदन तथा महत्त्वपूर्ण विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/०८२’ र ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन २०८१/०८२’ प्रतिनिधिसभामा पेश गर्नेछिन्।
त्यसैगरी, बैठकमा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची पनि तय गरिएको छ।
यससँगै ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि आजकै बैठकमा पेश हुने संसद् सचिवालयले जनाएको छ।
आजको बैठकमा सरकारका वार्षिक प्रतिवेदनमाथि जानकारी गराउनुका साथै सुरक्षा तथा कानुनी व्यवस्थासँग सम्बन्धित महत्त्वपूर्ण विधेयकहरू अघि बढाइने भएकाले संसद्को कार्यसूचीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।