

काठमाडौं । सरकारले निजामती कर्मचारीको कार्यशैलीलाई थप अनुशासित, मर्यादित र जिम्मेवार बनाउन नयाँ आचारसंहिता लागू गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको आचारसंहितामा कार्यालयभित्रको व्यवहारदेखि सामाजिक सञ्जाल प्रयोगसम्म कडा मापदण्ड तोकिएको छ।
आचारसंहिताअनुसार कार्यालय समयमा वा सरकारी पोसाकमा फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालका लागि फोटो वा भिडियो खिच्न तथा सार्वजनिक गर्न पाइने छैन। सरकारी कार्यालयभित्र टिकटक बनाउने वा भिडियो सामग्री तयार गरी सामाजिक सञ्जालमा पोस्ट गर्न समेत प्रतिबन्ध लगाइएको छ।
कर्मचारीले सामाजिक सञ्जालमार्फत सरकारका नीति तथा निर्णयको आलोचना गर्ने, अपमानजनक टिप्पणी गर्ने वा जनतामा भ्रम र अविश्वास फैलाउने सामग्री पोस्ट वा सेयर गर्न पनि निषेध गरिएको छ। साथै, अनलाइन समाचार वा सामाजिक सञ्जालका पोस्टमा कुनै निकाय वा पदाधिकारीलाई लक्षित गरी व्यङ्ग्यात्मक वा नकारात्मक टिप्पणी गर्न नपाइने व्यवस्था गरिएको छ।
आचारसंहिताले कर्मचारीको व्यक्तिगत आचरणलाई समेत समेटेको छ। कार्यालय वा सार्वजनिक स्थलमा मदिरा सेवन, धूमपान, जुवातास खेल्ने तथा अमर्यादित गतिविधिमा संलग्न हुन रोक लगाइएको छ। मन्त्रालयको पूर्वस्वीकृतिविना कुनै व्यक्ति वा संस्थाबाट उपहार, दान वा आतिथ्यता स्वीकार गर्न, सेवाग्राहीसँग कार्यालयबाहिर भेटघाट गर्न तथा एजेन्ट वा बिचौलियासँग सम्पर्क राख्न पनि निषेध गरिएको छ।
कार्यालयमा रहँदा तोकिएको पोसाक र परिचयपत्र अनिवार्य लगाउनुपर्ने, कार्यालय समयमै बाहिर जानुपरे प्रमुखको अनुमति लिएर लगबुकमा विवरण उल्लेख गर्नुपर्ने व्यवस्था पनि गरिएको छ। त्यस्तै, अधिकार प्राप्त अधिकारीको स्वीकृतिविना सरकारी कागजात वा गोप्य सूचना सार्वजनिक गर्न नपाइने स्पष्ट उल्लेख गरिएको छ।
मन्त्रालयका अनुसार आचारसंहिताको कार्यान्वयन र पालनाको नियमित अनुगमन सचिव वा तोकिएको अधिकारीबाट हुनेछ। उल्लंघन गर्ने कर्मचारीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ।