

काठमाडौं । पाराग्वेले सडन डेथमा जर्मनीलाई पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा ऐतिहासिक स्थान बनाएको छ। मंगलबार बिहान बोस्टन स्टेडियममा भएको राउन्ड अफ ३२ को रोमाञ्चक खेलमा पाराग्वेले पेनाल्टी सुटआउटमा जर्मनीलाई ४–३ ले हराउँदै क्वार्टरफाइनल यात्रातर्फ कदम बढाएको हो।
निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयसम्म दुवै टोली १–१ गोलको बराबरीमा रहेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।
जारी विश्वकपमा पेनाल्टी सुटआउटबाट निर्णय भएको यो पहिलो खेल हो। साथै, पाराग्वेले विश्वकपको नकआउट चरणमा पहिलो पटक कुनै युरोपेली टोलीलाई पराजित गर्दै नयाँ इतिहास रचेको छ।
पेनाल्टी सुटआउटमा पाराग्वेका माउरिसियो, गुस्ताभो गोमेज, माथियास गालार्जा र जोसे कानालेले सफल प्रहार गरे। जर्मनीका कप्तान जोसुआ किम्मिच, जमाल मुसियाला र नादिएम अमिरीले गोल गरे।
पहिलो पाँच प्रहारपछि दुवै टोली ३–३ को बराबरीमा थिए, जहाँ दुवै गोलरक्षकले दुई–दुई प्रहार बचाएका थिए। सडन डेथमा जर्मनीका ताहलेको प्रहार पोस्टमाथिबाट बाहिरिएपछि पाराग्वेका जोसे कानालेले निर्णायक पेनाल्टीलाई गोलमा परिणत गर्दै टोलीलाई अन्तिम १६ मा पुर्याए। यससँगै चार पटकको विश्वविजेता जर्मनीको विश्वकप यात्रा भने राउन्ड अफ ३२ बाटै समाप्त भएको छ।