

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनविरुद्धको खेलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले शानदार फ्रिकिकमार्फत गोल गर्दै टोलीको अग्रता फराकिलो बनाएका छन्।
दोस्रो हाफको ६०औँ मिनेटमा मैदान प्रवेश गरेका मेस्सीले खेलको ८०औँ मिनेटमा डी–बक्स बाहिर प्राप्त फ्रिकिकलाई उत्कृष्ट प्रहारमार्फत जाली चुमाएका हुन्। जोर्डनका अमिर जामोसले मेस्सीलाई लडाएपछि अर्जेन्टिनाले फ्रिकिकको अवसर पाएको थियो।
यो जारी विश्वकपमा मेस्सीको छैटौँ गोल हो। यसअघि उनले अल्जेरियाविरुद्ध ह्याट्रिक गरेका थिए भने अस्ट्रियाविरुद्ध दुई गोल गरेका थिए। यस गोलसँगै मेस्सीले विश्वकपमा आफ्नो कुल गोल संख्या १९ पुर्याउँदै प्रतियोगिताको इतिहासमा आफ्नो कीर्तिमानलाई थप मजबुत बनाएका छन्। मेस्सीको गोलपछि अर्जेन्टिनाले खेलमा ३–१ को अग्रता बनाएको छ।