

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले आइतबारको बैठकमा अखिल नेपाल फुटबल संघ (एन्फा) माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बनको विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद श्रद्धा कुँवर क्षेत्रीले विश्वभर फुटबलको महोत्सव चलिरहेका बेला नेपालको फुटबल प्रशासनमाथि लागेको प्रतिबन्धले देशको प्रतिष्ठामा गम्भीर असर पुगेको बताइन्।
उनले भनिन्, “आज विश्व समुदाय विश्वकप फुटबलको रौनकमा रमाइरहेको छ। हामी पनि आ–आफ्ना मनपर्ने देशको जर्सी लगाएर समर्थन गरिरहेका छौँ। तर यही बेला आफ्नै देशको फुटबलको अवस्था हेर्दा गर्व होइन, चिन्ताले शिर झुकाउनुपर्ने अवस्था आएको छ।”
सांसद क्षेत्रीले सीमित स्रोत–साधनका बाबजुद सावित्रा भण्डारी, प्रीति राईलगायत नेपाली खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा बढाएको उल्लेख गर्दै फुटबल प्रशासनमा सुशासन, पारदर्शिता र सक्षम व्यवस्थापनको अभाव रहेको बताइन्।
उनले घरेलु प्रतियोगिता लामो समयसम्म नियमित हुन नसक्दा नयाँ पुस्ताका युवामा फुटबलप्रतिको आकर्षण र उत्साह घट्दै गएको समेत उल्लेख गरिन्। त्यसैगरी श्रम संस्कृति पार्टीका सांसद आरएन राईले पनि फिफाले एन्फामाथि लगाएको निलम्बनप्रति सरकारको ध्यानाकर्षण गराउँदै तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर गरिएको प्रतिबन्धले नेपाली फुटबलमा गम्भीर असर परेको बताए। सांसदहरूले फुटबल प्रशासनमा देखिएका समस्या समाधान गरी अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउन सरकारले आवश्यक पहल गर्नुपर्नेमा जोड दिएका छन्।