काठमाडौं । नेपाली सेयर बजारमा लगातार सातौँ कारोबार दिन पनि गिरावट आएको छ। मंगलबार नेप्से परिसूचक २४.६३ अंकले घटेर २,६०८.६३ बिन्दुमा झरेसँगै बजार ६ महिनायताकै न्यून स्तरमा पुगेको हो।
यो स्तर गत पुस ९ गतेपछि पहिलो पटक देखिएको हो। त्यस दिन नेप्से २,५८५ अंकमा रहेको थियो। गत साताभर पाँचै कारोबार दिन ओरालो लागेको बजारले यो साताको पहिलो दुई दिन पनि गिरावटलाई निरन्तरता दिएको छ। सोमबार १६.५४ अंकले घटेको नेप्से मंगलबार थप २४.६३ अंकले खस्किएको हो। यसअघि गत साताको सोमबार १.४६, मंगलबार २६.१७, बुधबार १४.४६, बिहीबार ८.५० र शुक्रबार २.०० अंकले बजार घटेको थियो।
दिनभर बजार राताम्मे रहे पनि कारोबार रकम भने बढेको छ। सोमबार २ अर्ब ६७ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ३ अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
आज ३५ कम्पनीको सेयर मूल्य बढ्दा २३५ कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।
सबै उपसमूहका परिसूचक ओरालो लागेका छन्। बैंकिङ ०.७३ प्रतिशत, विकास बैंक ०.०१, फाइनान्स १.००, होटल तथा पर्यटन ०.९३, जलविद्युत् १.४३, लगानी ०.७४, जीवन बीमा ०.५६, उत्पादन तथा प्रशोधन १.२०, माइक्रोफाइनान्स ०.५६, निर्जीवन बीमा ०.६१, अन्य १.३१ तथा व्यापार समूह १.७४ प्रतिशतले घटेका छन्।
हालै सूचीकृत स्नो रिभर्सको सेयर मूल्य १५ प्रतिशतले बढ्दै सबैभन्दा धेरै लाभ कमाउने कम्पनी बनेको छ। त्यसपछि कर्पोरेट डेभलपमेन्ट बैंकको १३.०४ प्रतिशत, स्वाभिमान लघुवित्तको १०.८० प्रतिशत र सिर्जनशील लघुवित्तको ७.३९ प्रतिशतले मूल्य वृद्धि भएको छ।
उता, अघिल्लो दिन १५ प्रतिशतले बढेका टक्सार पिखुवाखोला र याम्बलिङ हाइड्रोपावरको मूल्य मंगलबार क्रमशः १४.०३ प्रतिशत र ८.२३ प्रतिशतले घटेको छ। सूचीकृत भएपछि यी दुवै कम्पनीको सेयर मूल्य पहिलो पटक ओरालो लागेको हो।
यस्तै सोपान फर्मास्युटिकल्सको ५.९० प्रतिशत, श्रीनगर एग्रिटेकको ५.४९ प्रतिशत र पियोर इनर्जीको ५.४८ प्रतिशतले सेयर मूल्य घटेको छ।
कारोबार रकमका आधारमा मंगलबार सिद्धार्थ बैंक, टक्सार पिखुवाखोला, आँखुखोला जलविद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर र याम्बलिङ हाइड्रोपावर अग्रस्थानमा रहेका छन्।