इन्जुरी समयमा गोलको वर्षा, अल्जेरिया र अस्ट्रिया दुवै नकआउट चरणमा

इन्जुरी समयमा गोलको वर्षा, अल्जेरिया र अस्ट्रिया दुवै नकआउट चरणमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को रोमाञ्चक खेलमा अल्जेरिया र अस्ट्रियाले ३–३ को बराबरी खेलेका छन्। इन्जुरी समयमा दुवै टोलीले एक–एक गोल गरेपछि खेल रोमाञ्चक बराबरीमा टुंगिएको हो।

खेलको २८औँ मिनेटमा मार्को अर्नाउटोभिचले गोल गर्दै अस्ट्रियालाई अग्रता दिलाए। पहिलो हाफको ४५औँ मिनेटमा रफिक बेलघालीले गोल फर्काउँदै अल्जेरियालाई १–१ को बराबरीमा पुर्‍याए।

दोस्रो हाफको ५५औँ मिनेटमा मार्सेल साबिट्जरले गोल गर्दै अस्ट्रियालाई पुनः २–१ को अग्रता दिलाए। तर पाँच मिनेटपछि रियाद महरेजले गोल गर्दै अल्जेरियालाई फेरि खेलमा फर्काए र स्कोर २–२ बनाए।

निर्धारित ९० मिनेटसम्म थप गोल हुन नसकेपछि खेल इन्जुरी समयमा पुग्यो। अतिरिक्त समयको तेस्रो मिनेटमा महरेजले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै अल्जेरियालाई जितको संघारमा पुर्‍याए।

तर अस्ट्रियाले हार स्वीकारेन। इन्जुरी समयकै छैटौँ मिनेटमा सासा कालाज्ड्जिकले बराबरी गोल गर्दै खेल ३–३ मा टुंग्याए।

यो नतिजासँगै दुवै टोलीले नकआउट चरणमा स्थान सुरक्षित गरेका छन्। अस्ट्रियाले एक जित, एक बराबरी र एक हारबाट ४ अंक जोड्दै समूह ‘जे’ को उपविजेताका रूपमा अन्तिम ३२ मा प्रवेश गर्‍यो। समान ४ अंक बटुलेको अल्जेरिया गोलअन्तरका आधारमा तेस्रो स्थानमा रह्यो। उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीमध्ये पर्दै उसले पनि नकआउट चरणमा स्थान बनाएको हो।

यस समूहबाट साविक विजेता अर्जेन्टिनाले तीनै खेल जित्दै शतप्रतिशत नतिजासहित ९ अंक जोडेर समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।