

काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप-२०२६ को समूह चरण अपराजित रूपमा टुंग्याउँदै नकआउट चरणमा प्रवेश गरेको छ। आइतबार बिहान डालास स्टेडियममा सम्पन्न समूह ‘जे’ अन्तर्गतको अन्तिम खेलमा अर्जेन्टिनाले जोर्डनलाई ३-१ गोलअन्तरले पराजित गरेको हो।
यसअघि अर्जेन्टिनाले पहिलो खेलमा अल्जेरियालाई ३-० तथा दोस्रो खेलमा अष्ट्रियालाई २-० ले हराएको थियो। तेस्रो खेलको जितसँगै अर्जेन्टिनाले शतप्रतिशत नतिजासहित ९ अंक जोड्दै समूह विजेताका रूपमा अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ।
अर्जेन्टिनाको जितमा जियोभानी लो सेल्सो, लाउटारो मार्टिनेज र कप्तान लियोनेल मेसीले एक–एक गोल गरे। जोर्डनका लागि मुसा अल–तमारीले एकमात्र सान्त्वना गोल फर्काए।
खेलको १९औँ मिनेटमा लो सेल्सोले फ्रिकिकमार्फत सुन्दर गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। त्यसपछि ३१औँ मिनेटमा लाउटारो मार्टिनेजले पेनाल्टीलाई सदुपयोग गर्दै टोलीको अग्रता २-० मा पुर्याए।
दोस्रो हाफको ५५औँ मिनेटमा जोर्डनका अल–तमारीले गोल गर्दै अन्तर घटाए पनि अर्जेन्टिनाले खेलमा नियन्त्रण कायम राख्यो। दोस्रो हाफमा मैदान प्रवेश गरेका कप्तान मेसीले ८०औँ मिनेटमा गोल गर्दै टोलीको ३-१ को जित सुनिश्चित गरे।
समूह ‘जे’ मा अर्जेन्टिना ९ अंकसहित शीर्ष स्थानमा रह्यो। समान ४-४ अंक जोडेका अल्जेरिया र अष्ट्रिया क्रमशः दोस्रो र तेस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगे। तीनै खेलमा पराजित जोर्डन भने अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।