जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा

जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा

काठमाडौं । पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। राउन्ड अफ ३२ अन्तर्गत सम्पन्न खेलमा ब्राजिलले जापानलाई २–१ गोलले पराजित गर्दै नकआउट चरणको अर्को यात्रा तय गरेको हो।

खेलको २९औँ मिनेटमा काइशु सानोले गोल गर्दै जापानलाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफमा पछि परेको ब्राजिलले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्‍यो।

५६औँ मिनेटमा कासेमिरोले बराबरी गोल फर्काएपछि खेल १–१ को अवस्थामा पुग्यो। निर्धारित समय सकिनै लाग्दा अतिरिक्त समयमा जाने संकेत देखिएको अवस्थामा वैकल्पिक खेलाडी गाब्रियल मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजिललाई २–१ को रोमाञ्चक जित दिलाए।

यससँगै ब्राजिलले अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ भने जापानको विश्वकप यात्रा राउन्ड अफ ३२ मै टुंगिएको छ। अब ब्राजिलले अन्तिम १६ मा आइभरी कोस्ट र नर्वेबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।