

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा सरकारले ८५ अर्ब १९ करोड रुपैयाँ आम्दानी गरेको छ भने ४६ अर्ब ३० करोड रुपैयाँ खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार, यो वार्षिक लक्ष्यको ५.५६ प्रतिशत आम्दानी र २.३६ प्रतिशत खर्च भएको हो।
सरकारले यस वर्ष १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ। साउन मसान्तसम्म कर राजस्वबाट ८० अर्ब ६७ करोड रुपैयाँ सङ्कलन भएको छ, जुन वार्षिक लक्ष्यको ६.०९ प्रतिशत हो। गैरकर राजस्वबाट ३ अर्ब ७९ करोड ५० लाख सङ्कलन भएको छ, जुन वार्षिक लक्ष्यको २.४६ प्रतिशत हो।
यस्तै, वैदेशिक अनुदानबाट ४२ करोड १९ लाख र अन्य प्राप्तिबाट ३० करोड ८९ लाख राजस्व सरकारी खातामा जम्मा भएको छ। यस वर्ष सरकारको लक्ष्य कर राजस्व १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख, गैरकर राजस्व १ खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख र वैदेशिक अनुदान ५३ अर्ब ४४ करोड ६९ लाख उठाउने रहेको छ।
चालु आवका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याइएकामा साउन मसान्तसम्म ४६ अर्ब ३० करोड ६१ लाख खर्च भएको छ। चालु तर्फ ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन भएकामा हालसम्म १८ अर्ब ४७ करोड ९८ लाख अर्थात् १.५६ प्रतिशत खर्च भएको महालेखाले जनाएको छ।
पुँजीगत शीर्षकमा ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख विनियोजन भएकोमा ७२ करोड ६३ लाख मात्र खर्च भएको छ, जुन ०.१८ प्रतिशत हो। पहिलो महिनामा सबैभन्दा धेरै खर्च वित्तीय व्यवस्था शीर्षकमा भएको छ। चालु आवका लागि वित्तीय व्यवस्था शीर्षकमा ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख विनियोजन गरिएकोमा २७ अर्ब १० करोड अर्थात् ७.२२ प्रतिशत खर्च भएको तथ्याङ्क छ।