काठमाडौँ । गत वर्ष भदौ २४ गते देशका विभिन्न स्थानमा भएको तोडफोड, हत्या तथा आगजनीका घटनालाई राष्ट्रिय मानव अधिकार आयोगले पूर्वयोजनाअनुसार गरिएको संगठित आपराधिक गतिविधि ठहर गरेको छ ।
आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा उक्त घटनालाई सामान्य प्रदर्शन वा आक्रोशको परिणाम मात्र नभई योजनाबद्ध रूपमा सञ्चालन गरिएको आपराधिक गतिविधिका रूपमा अनुसन्धान गर्न नेपाल सरकारलाई सिफारिस गरेको हो ।
प्रतिवेदनमा भदौ २३ गतेको घटनाबाट प्रभावित र आक्रोशित समूहबाट आन्दोलन सुरु भए पनि भदौ २४ गते देशैभरि एकै समयमा समान उद्देश्यका साथ भएका गतिविधिले ती घटना पूर्वयोजनासहित सञ्चालन गरिएको देखिएको उल्लेख गरिएको छ । आयोगले सो दिन भएका अधिकांश घटनालाई आपराधिक गतिविधिका रूपमा सम्बोधन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
आयोगका अनुसार भदौ २४ मा प्रदर्शनकारीको कुटपिटबाट तीन जना नेपाल प्रहरीको मृत्यु भएको थियो । त्यस्तै राजनीतिक दलका नेता–कार्यकर्ता तथा सुरक्षा निकायका कर्मचारीमाथि संघातिक आक्रमण गरी घाइते बनाइएको उल्लेख छ ।
उक्त दिन आन्दोलनकारीद्वारा गरिएको आगजनीमा परी २१ जनाको मृत्यु भएको आयोगले जनाएको छ । तीमध्ये ९ जनाको मात्र पहिचान खुलेको र बाँकी १२ जनाको पहिचान अझै हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी प्राध्यापक रविलक्ष्मी चित्रकार लगायत धेरै व्यक्ति आगलागीका कारण गम्भीर घाइते भएको तथा देशभर अर्बौँ रुपैयाँ बराबरको सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी भएको आयोगले जनाएको छ ।
यी सबै घटनालाई संगठित अपराधको रूपमा लिएर प्रभावकारी अनुसन्धान तथा कानुनी कारबाही अघि बढाउन आयोगले सरकारलाई सुझाव दिएको छ ।