‘तेज’ तोरी तेल न्यूनस्तर पाइएपछि बजारबाट फिर्ता गर्न विभागको आदेश

‘तेज’ तोरी तेल न्यूनस्तर पाइएपछि बजारबाट फिर्ता गर्न विभागको आदेश

काठमाडौँ । ‘तेज’ ब्रान्डको तोरी तेल गुणस्तरहीन भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त उत्पादन तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।

विभागले बुधबार सूचना जारी गर्दै बजार अनुगमनका क्रममा संकलन गरिएको नमुनाको परीक्षण गर्दा नेपाल सरकारले तोकेको मापदण्डअनुसार नभेटिएकाले बिक्री–वितरण रोक्न र बजारबाट ‘रिकल’ गर्न आदेश दिइएको जनाएको हो ।

विभागका अनुसार आयातित तोरी गेडाबाट उत्पादन गरिएको ‘तेज’ ब्रान्डको तोरी तेलको ब्याच नम्बर २० रहेको छ । उक्त उत्पादनको उत्पादन मिति २०८२ फागुन २८ उल्लेख गरिएको छ भने उपभोग्य अवधि ६ महिना तोकिएको छ ।

नमुनाको विश्लेषण गर्दा विभिन्न मापदण्ड पूरा नभएको पाइएपछि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) अनुसार सम्बन्धित उत्पादकलाई कारबाहीसहित उत्पादन फिर्ता गर्न आदेश जारी गरिएको विभागले जनाएको छ ।

उक्त तोरी तेल सिद्धार्थ आयल इन्डष्ट्रिज ले उत्पादन गरेको विभागले उल्लेख गरेको छ ।