

काठमाडौं । राष्ट्रियसभाको बैठक शुक्रबार अपराह्न १ः१५ बजे बस्ने भएको छ । बैठकमा प्रश्नोत्तरदेखि विधेयक टेबुल र समितिमा पठाउने प्रस्तावसम्म पाँच कार्यसूची समावेश गरिएको संघीय संसद सचिवालयले जनाएको छ ।
बैठकको प्रारम्भ अर्थमन्त्री विष्णु पोडेलसँग सम्बन्धित मौखिक प्रश्नोत्तरबाट हुनेछ, जसअन्तर्गत सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ मन्त्रीले दिनेछन् ।
त्यसपछि विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धी प्रतिवेदन सभा समक्ष प्रस्तुत गर्ने कार्यक्रम छ ।
राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ सम्बन्धी सन्देश टेबुल गर्नेछन् ।
त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ लाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा रहेको सचिवालयले जनाएको छ ।