दसैंपछि महाधिवेशनको मिति टुंगाे लाग्छ : गगन थापा

दसैंपछि महाधिवेशनको मिति टुंगाे लाग्छ : गगन थापा

जनकपुरधाम । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दसैँपछि बस्ने केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १५औँ महाधिवेशनको मिति टुङ्गो लगाउने बताएका छन्। बिहीबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै उनले विधानअनुसार ०८३ मंसिरभित्रै महाधिवेशन हुने दाबी गरे।

महामन्त्री थापाले अहिले चौधौँ महाधिवेशनबाट प्राप्त जिम्मेवारी पूरा गर्ने भूमिकामा रहेको र पन्ध्रौँ महाधिवेशनमा नेतृत्वका लागि दाबी गर्ने वा नगर्ने विषयमा अहिले नै विचार नगरेको बताए। उनले नयाँ क्रियाशील सदस्यता वितरण र विधान संशोधनको काम पनि आगामी महाधिवेशनमा हुने जानकारी दिए।

पार्टीलाई सुदृढ बनाउन संगठन विस्तारमा जोड दिइने, जनताको समस्यालाई प्राथमिकतामा राखी समाधान गर्न पहल गरिने र आन्तरिक चुनौतीलाई सहमति तथा संवादमार्फत समाधान गर्ने प्रतिबद्धता महामन्त्री थापाले व्यक्त गरे।

सरकारबारे उनले दुईभन्दा बढी दलको सहमतिमा बनेको हुँदा सबै दललाई समेटेर अघि बढ्न जरुरी रहेको र तत्काल सरकार परिवर्तन नहुने पनि स्पष्ट पारे।

उखु किसानको समस्या सम्बन्धमा महामन्त्री थापाले भने, चालु आवका लागि अनुदान उपलब्ध गराउने कार्यविधि २०७५ अनुसार दुई अर्ब रुपैयाँ छुट्याइएको छ र थप २०–२५ करोड रुपैयाँ थप्दा तत्काल रकम उपलब्ध गराउन अप्ठेरो नहुने बताए। उनले कृषिमन्त्रीसँग छलफल गरेर आन्दोलनरत उखु किसानको माग तत्काल सम्बोधन गरिने विश्वास व्यक्त गरे।