भारतमा जारी टि–२० श्रृंखला : नेपाल ‘ए’ ले आसामलाई ९६ रनले पराजित

भारतमा जारी टि–२० श्रृंखला : नेपाल ‘ए’ ले आसामलाई ९६ रनले पराजित

काठमाडौं । भारतको गुवाहिटीमा जारी टि–२० श्रृंखलामा नेपाल ‘ए’ ले आसाम क्रिकेट एसोसिएसन टिमलाई ९६ रनले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७३ रनको प्रतिस्पर्धात्मक स्कोर बनायो । जवाफी ब्याटिङमा आसाम १५.२ ओभरमै ७७ रनमा समेटिँदै ठूलो अन्तरले हार बेहोर्न बाध्य भयो ।

आसामका लागि रुहिनन्दन पेगुले १७ तथा सिबशंकर रोयले १६ रन बनाए । बाँकी ब्याट्सम्यानलाई नेपाली बलरहरूले दबाबमा राखे ।

नेपालका स्पिनर युवराज खत्रीले उत्कृष्ट प्रदर्शन गर्दै ३.२ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । बसिर अहमदले ३ विकेट, कमलसिंह ऐरी, आकाश चन्द र विवेक यादवले समान १–१ विकेट लिए ।

यसअघि नेपाल ‘ए’ का लागि ब्याटिङतर्फ सन्दीप जोराले सर्वाधिक ३५ रन योगदान दिए भने देव खनाल र पवन सर्राफले समान ३१ रन बनाए । बसिर अहमदले २७ रन जोडे भने विवेक यादव २६ रनमा अविजित रहे ।

आसामका बलर आकाश सेनगुप्ताले ३, अभिनव चौधरीले २ तथा आयुष्मान मलाकार र अभिलाष गोगोइले १–१ विकेट हात पारे ।

यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल ‘ए’ डकवर्थ–लुइस (DL) पद्धति अनुसार १५ रनले पराजित भएको थियो । नेपाल ‘ए’ ले आसामसँग कुल ५ खेल खेल्नेछ । बाँकी ३ खेल एसीए रंगशालामा डे/नाइट ढंगले फ्लडलाइटमा खेलिनेछन् ।