

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्ने भएका छन् ।
सभामुख देवराज घिमिरेका अनुसार चीन भ्रमणमा प्रस्थान गर्नु अघि प्रधानमन्त्री ओलीले उक्त भ्रमणबारे संसदलाई जानकारी गराउनेछन् । उनी भोलि शनिबार चीन जान लागेका छन् ।
प्रधानमन्त्री ओलीले लिपुलेक मामिलामा संसद्को विश्वास लिएर चिनियाँ राष्ट्रपति सी जिन पिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग स्पष्ट कुरा उठाउने बताएका छन् ।
प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनपछि सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीअनुसार सचिव हर्कराज राईले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्नेछन् ।
त्यसैगरी सभामुख घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाइ समितिमा सदस्यको नाम हेरफेर गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहित ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव ल्याउनेछन् ।
सचिवालयका अनुसार सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि आजको कार्यसूचीमा समावेश गरिएको छ ।