Skip to content

रूपाताल संरक्षण आयोजनाको भौतिक प्रगति ६५ प्रतिशत, २०८५/८६ भित्र सम्पन्न गर्ने लक्ष्य

मन्त्री श्रेष्ठद्वारा आयोजनाको अनुगमन, ताल संरक्षण र विद्युत् आपूर्ति व्यवस्थापनमा जोड

गण्डकी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले शुक्रबार कास्कीस्थित रूपाताल संरक्षण तथा एकीकृत विकास आयोजनाको स्थलगत अनुगमन गरेका छन् ।

अनुगमनका क्रममा उनले आयोजनाको भौतिक प्रगतिलगायत समग्र अवस्थाबारे जानकारी लिएका थिए । आयोजना व्यवस्थापनले मन्त्री श्रेष्ठलाई हालसम्म ६५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको र आर्थिक वर्ष २०८५/८६ भित्र आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी गराएको थियो ।

आयोजनास्थलमा देखिएको रुख कटानसम्बन्धी समस्या समाधान गरी कामलाई तीव्रता दिन मन्त्रालयका तर्फबाट आवश्यक सहजीकरण गर्ने मन्त्री श्रेष्ठले प्रतिबद्धता जनाए ।

कुल चार अर्ब ५२ करोड रुपैयाँ लागत रहेको आयोजना रूपाताल संरक्षणसँगै पर्यापर्यटन प्रवर्द्धन र स्थानीय विकासका लागि महत्वपूर्ण रहेको उनले बताए । रूपाताललाई वातावरण संरक्षण, जैविक विविधताको जगेर्ना र पर्यापर्यटनको नमुना गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा उनको जोड थियो ।

यही आधारमा कास्कीका अन्य तालको संरक्षण योजना पनि बनाउन सकिने मन्त्री श्रेष्ठले बताए । प्राकृतिक स्रोतको संरक्षण, विकास र दिगो उपयोगलाई सँगसँगै अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

यसैबीच, मन्त्री श्रेष्ठले शुक्रबार नै गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटासँग भेटवार्ता गरेका छन् । भेटमा पोखराको पहिचानसँग जोडिएको फेवाताललगायत गण्डकी प्रदेशका ताल तथा जलाशयको संरक्षण, व्यवस्थापन र दिगो उपयोगका लागि सङ्घ र प्रदेश सरकारबीच सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।

दुई मन्त्रीबीच गण्डकी प्रदेशको ऊर्जा विकास, जलस्रोतको बहुआयामिक उपयोग, नदी नियन्त्रण, तटबन्धन तथा सिँचाइ आयोजनालाई सङ्घ र प्रदेश सरकारबीचको समन्वय र सहकार्यमा अघि बढाउने विषयमा पनि कुराकानी भएको थियो ।

त्यस्तै, मन्त्री श्रेष्ठले पोखरास्थित लेखनाथ सबस्टेसनको स्थलगत अनुगमन गरी पोखरा तथा आसपासका क्षेत्रमा विद्युत् आपूर्ति र वितरण प्रणालीको अवस्थाबारे जानकारी लिएका थिए ।

अनुगमनका क्रममा उनले विद्युत् प्रणालीको वास्तविक समयको तथ्याङ्क व्यवस्थापन, अनुगमन र विश्लेषणका लागि डाटा सेन्टरको प्रभावकारी सञ्चालन तथा उपयोगिताबारे पनि जानकारी लिए ।

हिउँदमा आन्तरिक विद्युत् उत्पादन, बढ्दो माग र अन्तरदेशीय विद्युत् व्यापारबीच उचित तालमेल मिलाएर आपूर्ति व्यवस्थापन गर्नुपर्ने मन्त्री श्रेष्ठले बताए ।

उनले नेपाल विद्युत् प्राधिकरणको गण्डकी प्रादेशिक कार्यालय तथा प्रदेशअन्तर्गतका वितरण केन्द्रका प्रमुखहरूसँग छलफल गरी विद्युत् वितरण प्रणालीको अवस्था, सेवा प्रवाह र सुधारका चुनौतीबारे जानकारी लिएका थिए ।

विद्युत् चुहावटलाई लक्ष्यभन्दा तल झार्ने, काठका पोल प्रतिस्थापन गर्ने, सामुदायिक विद्युत् वितरण प्रणालीलाई व्यवस्थित बनाउने तथा बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा ध्यान दिनुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिए ।

सेयर गर्नुहोस्:XWhatsAppViberLinkedInTelegram

लोकप्रिय