रगतले लतपतिएको अनुहार र ओठमा गुलाब लिएर आए शाहरुख, ‘किंग’को नयाँ पोस्टर सार्वजनिक

रगतले लतपतिएको अनुहार र ओठमा गुलाब लिएर आए शाहरुख, ‘किंग’को नयाँ पोस्टर सार्वजनिक

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको बहुप्रतीक्षित फिल्म ‘किंग’को नयाँ पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा शाहरुख रगतले लतपतिएको अनुहार र ओठमा गुलाब च्यापेको फरक अवतारमा देखिएका छन्। उनको आँखामा आक्रोश र हाउभाउमा प्रेम झल्किने यो लुक्सले फिल्ममा एक्सन र रोमान्सको मिश्रण हुने संकेत गरेको छ।

सामाजिक सञ्जालमा पोस्टर सार्वजनिक गर्दै शाहरुखले लेखेका छन्, ‘आज मलाई फेरि याद आयो… म हत्यारा होइन, म प्रेमी हुँ।’

पोस्टर सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकको चासो थप बढेको छ। फिल्ममा शाहरुख नयाँ एक्सन अवतारमा प्रस्तुत हुने बताइएको छ। सिद्धार्थ आनन्दको निर्देशनमा बनेको ‘किंग’ रेड चिलिज इन्टरटेनमेन्ट र मार्फ्लिक्स पिक्चर्सको संयुक्त निर्माण हो। फिल्ममा शाहरुखसँगै दीपिका पादुकोण, रानी मुखर्जी, अभिषेक बच्चन, सुहाना खान, अनिल कपूर, अभय वर्मा र अर्शद वारसीको अभिनय रहने बताइएको छ।

फिल्मको कथावस्तु एक गुरु र उनका चेलाको कठिन परिस्थितिमा बाँच्नका लागि गरिने संघर्ष र यात्रामा केन्द्रित रहेको जनाइएको छ। ‘किंग’ सन् २०२६ डिसेम्बर २४ मा प्रदर्शन गर्ने तयारी गरिएको छ। फिल्मको बजेट ३५० देखि ४०० करोड भारतीय रुपैयाँको हाराहारीमा रहेको विभिन्न रिपोर्टमा उल्लेख छ।