

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज मंगलबार दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने हुनेछन्। खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ।
राष्ट्रिय टोलीका कप्तानसमेत रहेका सन्दीप लामिछानेको कप्तानीमा विराटनगर मैदान उत्रनेछ। मार्की खेलाडीसमेत रहेका सन्दीपको नेतृत्वमा विराटनगर प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा छ। यता, कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोज पनि जित निकाल्दै प्रतियोगितामा आफ्नो यात्रा अघि बढाउन चाहन्छ।
विराटनगर र चितवनबीचको खेलमा समर्थकको नजर चितवनका प्रशिक्षक सोहेल तनविरमाथि पनि रहनेछ। एनपीएलका अघिल्ला दुई संस्करणमा खेलाडीका रूपमा मैदान उत्रिएका तनविर यसपटक प्रशिक्षकको भूमिकामा छन्। उनको अनुभवले चितवनको प्रदर्शनमा कस्तो प्रभाव पार्छ भन्ने चासो पनि खेलसँगै जोडिएको छ।
आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल पनि त्रिवि क्रिकेट मैदानमै हुनेछ। एनपीएलको पहिलो संस्करणको च्याम्पियन जनकपुर यसपटक सुरुदेखि नै राम्रो प्रदर्शन गर्दै उपाधि यात्रालाई अघि बढाउन चाहन्छ।
सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्स भने जनकपुरलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गर्ने योजनामा हुनेछ। आजका दुवै खेलले प्रतियोगितामा टोलीहरूको सुरुवाती लय र तयारीको संकेत दिनेछन्।