ह्यारी केनले जिते सन् २०२६ को बालोन डी’ओर, २५ वर्षपछि इंग्लिस खेलाडीलाई उपाधि

ह्यारी केनले जिते सन् २०२६ को बालोन डी’ओर, २५ वर्षपछि इंग्लिस खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले सन् २०२६ को पुरुष बालोन डी’ओर अवार्ड जितेका छन्। लन्डनमा आयोजित समारोहमा केनलाई विश्वकै उत्कृष्ट पुरुष फुटबल खेलाडी घोषित गरिएको हो।

यससँगै केन सन् २००१ मा माइकल ओवेनपछि बालोन डी’ओर जित्ने पहिलो इंग्लिस खेलाडी बनेका छन्। ३३ वर्षीय केन यो प्रतिष्ठित अवार्ड जित्ने पाँचौँ इंग्लिस खेलाडी हुन्। यसअघि स्टेनली म्याथ्युजले सन् १९५६, बबी चार्लटनले सन् १९६६ तथा केभिन किगनले सन् १९७८ र १९७९ मा बालोन डी’ओर जितेका थिए।

युनाइटेड किङडमका अन्य विजेतामा स्कटल्यान्डका डेनिस ल (सन् १९६४) र उत्तरी आयरल्यान्डका जर्ज बेस्ट (सन् १९६८) छन्।

एम्बाप्पे दोस्रो, यामल तेस्रो

बालोन डी’ओरको प्रतिस्पर्धामा रियल मड्रिड तथा फ्रान्सका फरवार्ड केलियन एम्बाप्पे दोस्रो भए भने बार्सिलोना तथा स्पेनका युवा खेलाडी लामिन यामल तेस्रो स्थानमा रहे। अवार्ड ग्रहणपछि केनले आफ्नो करियरमा भोगेका उतारचढाव र निरन्तर मेहनतको चर्चा गरे। उनले सुरुवाती दिनमा आफू भविष्यको सुपरस्टार बन्ने विश्वास धेरैले नगरेको बताए।

केनले भने, “धेरैले यस्तो सोचेका थिएनन् होला, सायद मैले आफैँले पनि म यहाँसम्म आइपुग्छु भनेर सोचेको थिइनँ। मैले धेरै उतारचढावको सामना गर्नुपर्‍यो, विशेषगरी करियरको सुरुवाती दिनमा।” उनले धैर्य, कडा मेहनत र आत्मविश्वासले आफूलाई उच्च स्तरमा पुग्न मद्दत गरेको बताए। कठिन परिस्थितिमा आफ्नै मनसँग संघर्ष गर्नुपरेको उल्लेख गर्दै उनले निरन्तर सुधार गर्दै अघि बढ्नु सफलताको महत्त्वपूर्ण आधार भएको धारणा राखे।

एकै सिजनमा ६१ गोल

गत सिजन केनले बायर्न म्युनिखका लागि ५१ खेलमा ६१ गोल गरेका थिए। उपलब्ध विवरणअनुसार यो बायर्नका कुनै पनि खेलाडीले एक सिजनमा गरेको सर्वाधिक गोल हो। इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट खेलेका खेलसमेत जोड्दा उनले ६५ खेलमा ७३ गोल गर्नुका साथै आठ गोलका लागि असिस्ट प्रदान गरेका थिए।

महिलातर्फ पुटेलासलाई तेस्रो बालोन डी’ओर

महिलातर्फ स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलासले तेस्रो पटक बालोन डी’ओर फेमिनिन जितेकी छन्। यससँगै उनी तीन पटक यो अवार्ड जित्ने स्पेनकै आइताना बोनमतीको कीर्तिमानी उपलब्धिको बराबरीमा पुगेकी छन्। ३२ वर्षीया पुटेलासको कप्तानीमा बार्सिलोनाले सन् २०२५–२६ को सिजनमा च्याम्पियन्स लिगसहित चार प्रमुख उपाधि जितेको थियो। महिला बालोन डी’ओर लगातार छैटौँ वर्ष स्पेनका खेलाडीले जितेका छन्।